काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारी नीतिका कारण उद्योग व्यवसायमा बारम्बार समस्या सिर्जना हुने गरेको बताएका छन्।
नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको व्यापार बाहिरबाट आकर्षक देखिए पनि भित्र धेरै चुनौतीले भरिएको उल्लेख गरे। विगतमा कार्पेट, गार्मेन्ट र पस्मिना जस्ता क्षेत्र खस्किएको उदाहरण दिँदै उनले नीतिगत अस्थिरताले व्यवसायमा असर पर्ने गरेको बताए।
महासंघले व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको जानकारी दिँदै उनले बजेटका लागि दिइएका सुझावमा हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर हटाउने विषय समेटिएको बताए।
महासंघले विभिन्न क्षेत्रगत मुद्दामा छलफल अघि बढाउने र नियमित रूपमा नीतिगत बहस सञ्चालन गर्ने योजना बनाएको जानकारी पनि उनले दिए। उनले नेपालमै उपलब्ध बहुमूल्य पत्थरको उपयोग बढाउन व्यवसायीलाई सुझाव दिएका छन्।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य ले यो क्षेत्र उच्च जोखिमयुक्त भएको र सरकारी नीतिका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको बताए। त्यस्तै उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ ले पनि हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको भ्याट हटाउनुपर्ने धारणा राखे।
वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ ले नेपाली ग्राहक विदेशतर्फ आकर्षित हुन नदिन कर नीति परिमार्जन आवश्यक रहेको बताए। पूर्वअध्यक्ष ज्योत्सना श्रेष्ठ ले कर नहटाए व्यवसाय संकटमा पर्ने चेतावनी दिइन्।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधान ले यो क्षेत्रमा ठूलो सम्भावना भए पनि पर्याप्त नीति सहयोग नपाएको गुनासो गरे। उनले कच्चा पदार्थको अभाव, खुला सीमाबाट हुने चोरी पैठारी, बिलिङ समस्यालगायत चुनौती रहेको उल्लेख गरे। साथै डिजिटल भुक्तानीको सीमा बढाउनुपर्ने माग पनि राखे।
कार्यक्रममा संघका अध्यक्ष सुमनमान ताम्राकार ले क्षेत्रका समस्या समाधानमा महासंघले सशक्त पहल गर्नुपर्ने बताए भने महासचिव जयराम पाण्डेय ले वर्तमान नेतृत्वबाट निजी क्षेत्रको आवाज अझ प्रभावकारी रूपमा उठ्ने विश्वास व्यक्त गरे।


































