काठमाडौँ । फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले १६ वर्ष मुनिका बालबालिकामा सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने तयारी थालेका छन् ।
प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलंघन गरेमा जरिवानाको सामना गर्नुपर्ने बताउँदै आएका छन् । अस्ट्रेलिया सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्रमा पर्दछ ।
नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनुअघि यो कानुनहरू यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ । कानुन पारित भएपछि, कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुनेछन् । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण र आमा –बाबासँग बिताउनु पर्ने उमेर भएको उनले प्रस्ट पारेका छन् ।
एएफपीका अनुसार फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ भने अस्ट्रेलियाले प्रतिबन्ध लागू गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसको भनाई छ ।
हेर्न नचाहेका अनावश्यक सामाग्रीहरू सामाजिक सञ्जालमा प्रणालीमा देखा पर्ने भएकाले नियन्त्रण गर्नु परेको अल्बानिजले बताएका छन्। यसैगरी, सञ्चारमन्त्री मिसेल रोल्यान्डले सामाजिक सञ्जाल सञ्चालन गरेका कम्पनीहरूमा बारम्बार जिम्मेवारीको ‘कमी’ देखिइरहेको बताएका छन् ।
रोल्यान्डले इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्सजस्ता नेटवर्क तथा कम्पनीहरूले निर्धारित कानुनको उल्लङ्न गरेमा आर्थिक दण्डको सामना गर्नुपर्ने बताएका छन् ।


































