काठमाडौँ । नेपाल टेलिकमले रसुवाको लाङटाङ-क्यान्जिन पदमार्गमा स्थानीय बासिन्दा तथा पर्यटकलाई लक्षित गर्दै फोरजी मोबाइल सेवा विस्तार गरेको छ । समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रूपमा चिनिने त्यस क्षेत्रमा फोरजी मोबाइल सेवाले पर्यटकहरूलाई यात्राका दौरान प्रियजनसँग आफ्ना अनुभव साटासाट गर्न सहयोग पुग्ने आशा टेलिकमले व्यक्त गरेको छ ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्य स्थल हो । लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटक तथा व्यवसायी समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।






































