काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्दै छ। आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।
मुलुक संघीय संरचनामा गए पनि प्रशासनिक संघीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो। प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्ने गरी कार्यसूची तय भए पनि अन्यमा प्राविधिक समस्या देखाएर रोकिएको थियो ।
आजका लागि निर्धारित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् ।






































