काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले देशमा बीमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल बीमा प्राधिकरणद्वारा बीमक, पुनर्बीमक तथा पुनर्बीमक ब्रोकरहरूसँग काठमाडौंमा बिहीबार आयोजित पुनर्बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा बजारको विकासका लागि प्रारम्भिक, मध्यम र उच्चस्तरको क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा कार्ययोजना बनाएर प्राधिकरणमा पेश गर्न निर्देशन दिएका हुन् ।
अध्यक्ष ओझाले भने, “पुनर्बीमा क्षेत्रमा भएका अस्पष्टतालाई क्रमशः सुधार गर्दै जानुपर्छ । पुनर्बीमा कम्पनीहरू प्रतिस्पर्धी हुनैपर्छ । हामी नीतिलाई स्थिरता दिन्छौं । प्राधिकरणमा एकीकृत निर्देशिका बन्ने क्रममा छ । एकीकृत निर्देशिकामा बीमकका सुझावहरूलाई सम्बोधन गर्ने प्रयास गर्छौं ।”
बीमा ऐन, नियम, निर्देशिका र कार्यविधि कार्यान्वयनमा सहजीकरण गर्न प्राधिकरणमा टिम तयारी अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा ऐन, नियम, निर्देशिका र कार्यविधि कार्यान्वयनमा प्राधिकरण थप कठोर हुने बताए । गलत अभ्यासलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्दै दैनिक रूपमा बीमा दाबी सम्बन्धी धेरै गुनासा आउने गरेको समेत बताए । बीमा क्षेत्रको गम्भीर समस्या हो, बीमितले बीमा गरेपछि दाबी भुक्तानी पाउनुपर्छ, बीमकले प्रिमियम संकलन र दाबी भुक्तानीलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्छ,” उनले थप्दै भने ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्दै बीमा क्षेत्रको प्रवद्र्धन गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताएका थिए ।
यस्तै नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भ राज लामिछानेले पुनर्बीमा सम्बन्धी समग्र विषयमा छलफल गरी सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजूले पुनर्बीमा सम्बन्धी कानूनी व्यवस्था, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा तथा हिमालयन पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले नेपाली बीमा बजारका समस्या तथा समाधानका उपाय र नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवारले पुनर्बीमा क्षेत्रका अभ्यास तथा चुनौती सम्बन्धी छुट्टाछुट्टै प्रस्तुतीकरण पेश थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा कर्मचारीहरू, बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा पुनर्बीमा विभागका प्रमुखहरू र पुनर्बीमक ब्रोकरहरूको सहभागिता रहेको थियो ।






































