काठमाडौं। विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगदसहित सम्मान गर्ने भएको छ ।
क्यानले टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार नगद सहित सम्मान गर्ने भएको हो । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
बुधबार यूएईमा जारी एशिया छनोटको निर्णायक खेलमा आयोजक यूएईलाई आठ विकेटले पराजित गर्दै युवा महिला टोलीले इतिहास रचेको हो।
पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका थिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत “महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल ।” भन्दै शुभकामना लेखेका थिए ।


































