काठमाडौँ । नेपालीहरू विदेश घुम्नका लागि १० महिनाको अवधिमा झण्डै ७३ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार पछिल्लो १० महिनामा नेपालबाट घुम्न गएका नेपालीले करिब ७३ अर्ब रुपैयाँ खर्च गरेका छन्।
त्यस्तै, सोही अवधिमा नेपालमा घुम्न आएका विदेशी पर्यटकहरूमार्फत ७५ अर्ब ७१ करोड रुपैयाँको आम्दानी भएको छ। अघिल्लो वर्षको तुलनामा यो आम्दानी ८.६ प्रतिशतले वृद्धि भएको हो।
तर सेवा खातामा समग्रमा ८६ अर्ब ५३ करोड रुपैयाँ घाटा देखिएको छ। गत वर्ष सोही अवधिमा यो घाटा ५० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो। यो वर्ष भ्रमण खर्चमा समेत १७.९ प्रतिशतको वृद्धि भएको छ। कुल भ्रमण खर्च १८५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।
शैक्षिक प्रयोजनमा विदेश गएका नेपालीहरू मार्फत ठुलो हिस्सा रकम बाहिरिएको हो। शिक्षातर्फ मात्र ११२ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो वर्षको १०४ अर्ब २५ करोड रुपैयाँभन्दा उल्लेख्य बढी हो।
































