काठमाण्डौं । गत साता २५९६.८२ विन्दुमा बन्द भएको नेप्से, यस साता १.३१ प्रतिशत अर्थात् ३३.८९ अंक बढेर २६३०.७१ विन्दुमा पुगेको छ। समग्रमा यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशतले बढेको छ ।
यस साता ५ कारोबारमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन नेप्से घटेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ५.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ।
त्यस्तै, नेप्सेसँगै यस साता कारोबार रकममा समेत बढोत्तरी भएको हो । गत साता दैनिक औषतमा ४ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८७ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा दैनिक औषत कारोबार रकम ०.८८ प्रतिशत बढेको हो।
यस साता नेप्सेको कुल बजार पुँजीकरण १.३० प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ५६ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ६३ अर्ब पुगेको छ।
त्यस्तै, १३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक (२.७३ प्रतिशत) बढेको छ। यस साता सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक २५.४२ प्रतिशत बढेको छ।
त्यस्तै, यस साता न्यादी हाइड्रोपावरको शेयर मूल्य २० प्रतिशतभन्दा बढी बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २० प्रतिशत बढेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत घटेको छ।



































