काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ८३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ । कोषका अनुसार २०८२ जेठ १५ गतेसम्म २३ लाख ३८ हजार ९ सय १८ जना योगदानकर्ता र २० हजार ८ सय ३७ रोजगारदाताबाट उक्त रकम संकलन गरिएको हो ।
योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका योगदानकर्ताको हिस्सा सबैभन्दा ठूलो रहेको छ । सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका ५ लाख ९८ हजार ८ सय ६२ जना आबद्ध रहेका छन् । यस्तै वैदेशिक क्षेत्रका योगदानकर्ता १७ लाख ३९ हजार ३९ जना रहेका छन् । हालसम्म कोषमा अनौपचारिक क्षेत्रका ६ सय १६ र स्वरोजगारतर्फ ४०१ जना योगदानकर्ता सम्मिलित रहेका छन् ।
कोषका अनुसार सबैभन्दा बढी योगदान रकम वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको छ । उक्त योजनामा कुल ६८ अर्ब १३ करोड ६२ लाख ३५ हजार ३ सय ५७ रुपैयाँ जम्मा भएको छ । त्यस योजनामा औपचारिक क्षेत्रका योगदानकर्ताले ६५ अर्ब ४७ करोड ६० लाख ९५ हजार रुपैयाँ जम्मा गरेका छन् भने २ अर्ब ६४ करोड ७६ लाख ४१ हजार ६ सय ३० रुपैयाँ वैदेशिक क्षेत्रका योगदानकर्ताले जम्मा गरेका हुन् ।
वृद्धावस्था सुरक्षापछि सबैभन्दा बढी योगदान रकम आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा जम्मा भएको छ । उक्त योजनामा ५ अर्ब २३ करोड ८७ लाख ७५ हजार ७ सय ५० रुपैयाँ संकलन भएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब ३४ करोड ७२ लाख ९३ हजार ५ सय ८९ रुपैयाँ जम्मा भएको छ । हालसम्म अतिरिक्त योगदानको आकार १ अर्ब ४३ करोड ५५ लाख ५४ हजार ३ सय ३९ रुपैयाँ रहेको छ भने प्रतिफलको आकार ५ अर्ब ९५ करोड ३० लाख ९१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
यस्तै कोषले आफ्नो वेभसाइटमा राखेको अद्यावधिक जानकारी अनुसार विभिन्न ४ सुरक्षा योजनामा हालसम्म २ लाख २४ हजार ८ सय ९८ जना योगदानकर्ताले ७ लाख २१ हजार ८ सय १८ पटक दाबी गरेका छन् । दाबी भुक्तानी भएको कुल रकम १५ अर्ब ३४ करोड रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
केके छन् सामाजिक सुरक्षा कोषका फाइदा ?
सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको तलबबाट मासिक ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले योगदान दिनुपर्छ । यसरी जम्मा गरिएको रकम वार्षिक पाँच लाख रुपैयाँसम्मको आयमा कर छुटका लागि प्रयोग गर्न सकिन्छ । कर छुटको सीमाभन्दा बढी योगदान गर्न पनि सकिन्छ भने योगदानकर्ताले छात्रवृत्ति तथा ऋण सुविधा पनि लिन सक्छन् ।
जम्मा भएको ३१ प्रतिशत रकम विभिन्न योजनामा विभाजित गरिन्छ । वृद्धावस्था सुरक्षा योजनामा २८.३३ प्रतिशत रकम छुट्याइन्छ । त्यसमध्ये ८.३३ प्रतिशत अवकाश योजना र २० प्रतिशत निवृत्तिभरण (पेन्सन) योजनामा जान्छ । बाँकी १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षाका लागि, १ प्रतिशत स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि र ०.२७ प्रतिशत आश्रित परिवारको सुरक्षाका लागि छुट्याइन्छ । प्रत्येक महिनाको योगदान अर्को महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्ने प्रावधान छ ।
अवकाश योजनाअन्तर्गत ६० वर्ष पुगेपछि वा रोजगारी अन्त्य भएपछि जम्मा भएको रकम झिक्न सकिन्छ । योगदानकर्ताको मृत्यु भएमा रकमसहितको प्रतिफल पनि हकवालाले एकमुष्ट पाउनेछन् । निवृत्तिभरण योजनामा जम्मा भएको रकम भने ६० वर्षपछि मासिक रूपमा वा एकैपटक झिक्न मिल्नेछ । पेन्सनको रकम १६० ले भाग गरेर प्रत्येक महिना प्रदान गरिन्छ । पेन्सन लिन थालिसकेपछि १८० महिना नपुग्दै मृत्यु भएमा वा पति वा पत्नी बेरोजगार भएमा उनीहरूले जीवनभर पेन्सनको ५० प्रतिशत प्राप्त गर्नेछन् ।
यदि योगदानकर्ताको मृत्यु हुँदा सन्तान अविवाहित र २१ वर्ष नपुगेका छन् भने उनीहरूले प्रत्येक महिना अन्तिम पारिश्रमिकको ४० प्रतिशतसम्म शैक्षिक वृत्तिको रूपमा पाउनेछन् । अशक्त सन्तानलाई भने उमेरको सीमा लागू हुँदैन । एकाघरमा सन्तान वा जीवनसाथी नभएर आमाबुबा आश्रित भएमा तिनीहरूले पनि मासिक पारिश्रमिकको ६० प्रतिशतसम्म जीवनभर पाउनेछन् । मृत्युपछि अन्तिम संस्कारका लागि नजिकका परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराइने प्रावधान पनि रहेको छ ।
तीन वर्षभन्दा बढी समय योगदान गरिसकेपछि आवश्यक परेमा अवकाश र पेन्सन योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन सकिन्छ । यो ऋणमा लगाइएको ब्याज बैंकको भन्दा कम हुने जनाइएको छ ।
स्वास्थ्य तथा मातृत्व सुरक्षामा पनि विशेष सुविधा छ । अस्पताल भर्ना, शल्यक्रिया, परीक्षण, औषधि खर्च, सुत्केरी हुँदा हुने खर्च तथा शिशुको उपचार खर्च पाउने व्यवस्था छ । घरमै उपचार गराउँदा चिकित्सकले दिएको परामर्श शुल्कसमेत पाइन्छ । त्यसैगरी, प्रसूति स्याहारका लागि प्रति शिशु एक महिनाको न्यूनतम तलब बराबरको रकम दिइन्छ ।
कर्यालयको काम गर्दागर्दै दुर्घटना भएमा सम्पूर्ण उपचार खर्च पाइन्छ । अन्य अवस्थाको दुर्घटनामा भने सात लाख रुपैयाँसम्म सुविधा पाइन्छ । दुर्घटनाका कारण श्रमिक स्थायी रूपमा अशक्त भएमा, उसले जीवनभर मासिक ६० प्रतिशत पारिश्रमिक बराबर रकम पाउनेछ ।
अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रका योगदानकर्ताले फरक तरिकाले योगदान गर्नेछन् । वैदेशिक रोजगारीमा जाने वा विदेशमा स्वरोजगार रहेको नागरिकले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने छन् ।






































