काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले वैशाख १६ गतेदेखि २२ गतेसम्म श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूका लागि ७९ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो। उक्त आईपीओमा उल्लेखनीय रूपमा बढी आवेदन परेको देखिएको छ।
निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कुल ९० हजार ८५५ जनाबाट ११ लाख ८९ हजार ८७० कित्ता सेयरका लागि आवेदन परेको थियो, जुन उपलब्ध सेयरभन्दा करिब १५.०६ गुणा बढी हो।
यस प्रक्रियामा ५ वटा आवेदन बदर गरिएको छ भने सी-आस्वा प्रणालीबाट ३० आवेदकको आवेदन रद्द भएको जानकारी दिइएको छ।
बाँडफाँड परिणामअनुसार ७ हजार ९०० जना आवेदकले १०–१० कित्ताका दरले कुल ७९ हजार कित्ता सेयर प्राप्त गरेका छन्। बाँकी अधिकांश आवेदक भने सेयर पाउनबाट वञ्चित भएका छन्।


































