काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
युनिभर्सिटीले कलेजमा ज्यान गुमाएकी प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ । ‘यो कदमले प्रकृति जस्ता थुप्रै होनहार विद्यार्थीहरूलाई कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्नेछ’, युनभर्सिटीले उल्लेख गरेको छ ।
आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।
युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरूमाथि उल्टै दमन गरेको थियो । कलेजका सुरक्षा गार्ड र बाउन्सरहरुले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । कलेजमा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थीहरू सीमा नाका हुँदै स्वदेश फर्किएका छन् ।



































