काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै निषेध आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो ।
प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– 'ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण २०८१–११–११ गते बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि निषेध आदेश जारी गरिएको छ ।'
निषेधित क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुन बमोजिम कारवाही हुने बताइएको छ ।
फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्वमा फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी पश्चिममा फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म), उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानी, दक्षिणमा फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजङ्घा टोल)सम्म निषेधाज्ञा लागू हुने बताएको छ ।
काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रको पूर्वतर्फ पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिमतिर बल्लुडाँडा, उत्तरतर्फ केबलकार बेस स्टेसन र दक्षिणतर्फ नयाँ बसपार्क इलाकाकोसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार राती आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको थियो ।
झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्याली पर्दशन गर्दै विरेन्द्रचोक पुगेर राँके जुलुसमा परिणत गरेका थिए ।
झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं. ५ विरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याकेका थिए । यसअघि बिहिबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाईते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ घाईते भएका थिए । पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदै आएको छ ।



































