काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् । बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्ने बताए । उनले सरकार बढ्दो जनआकांक्षा र चुनौतीहरूबिच, राज्यको संस्थागत र सामथ्र्यबिच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको जिकिर गरे ।
युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको भन्दै उनले लोकतन्त्रलाई पारदर्शी र अझ जबाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिबद्धता जनाए । दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र भएको उनले बताए ।
फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीररवीरङ्गनाहरुको स्मरण गर्ने दिन भएको ओलीले बताए । प्रजातन्त्र स्थापनाको संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरे।
मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न पनि ओलीले आह्वान गरे ।



































