काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्म जयन्ती आज विभिन्न स्थानमा विविध कार्यक्रमका साथ मनाइँदै छ।
महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।
उनले नेपाली साहित्यलाई सयभन्दा धेरै कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाए। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो।
देवकोटाको ११६औँ जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गरेको उल्लेख गरेका छन्। देवकोटाको ११६औँ जन्मजयन्तिको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताएका छन् ।
महाकविप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, आज देवकोटा जयन्ती, हार्दिक श्रद्धा, हार्दिक सम्मान महाकवि देवकोटा, तपाईँलाई सधैँ सधैँ सम्झिरहने छौँ ' महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी कविता हरफले जस्तोसुकै अवस्थामा पनि कर्मशील भइरहन प्रेरित गर्छ भन्दै देवकोटाका कविताका केही अंश प्रधानमन्त्री ओलीले यसरी उद्धृत गरेका छन्
विलासको लालस दास छैन म ।
मीठो छ मेरो रसिलो परिश्रम ।।
प्रयासको पत्थरमा नदीसरि ।
बहन्छु हाँसी म तरङ्गले भरी ।।
म पोखरी झैँ उही ठाउँ जम्दिनँ ।
छ शुद्ध यो जीवनको सबै कण ।।



































