काठमाडौँ। कलङ्कीमा सञ्चालित नेपाल नेसनल हस्पिटललाई काठमाडौँ महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ।
अस्पतालले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि एक लाख रुपैयाँ जरिवाना तिर्नुपरेको हो । सुधारको मौका दिँदा अस्पतालजन्य फोहर व्यवस्थापनमा लापरबाही गरेको कारण जरिवाना गराएको महानगरले जनाएको छ। यसपटक अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि आज अनुगमन गरिएको थियो ।
कामपाले जरिवानाको पत्र पठाएपछि अस्पतालले कामपाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको कामपाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिएकी छिन् । पटक पटक गएर सुधारको मौका दिँदा समेत हस्पिटलले सुधार गरेको कारण कारबाही गरेको महानगरको भनाई छ ।
कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेको जनाएको छ । दफाबमोजिम रासायनिक फोहर मैला, औद्योगिक फोहर मैला, स्वास्थ्य संस्थाजन्य फोहर मैला, जोखिमपूर्ण फोहर मैला वा हानिकारक फोहर मैला जथाभाबी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ ।
यही कसुर दोहो¥याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था रहेको महानगरले जनाएको छ ।



































