काठमाडौँ । आजबाट नेपाल संवत् ११४५ सुरु भएको छ । यस अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
यस संवत् लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका मानिन्छ ।
पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी मानिन्छ । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।



































