काठमाडौँ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले भारतको उडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह गरे ।
सांसदहरू छविलाल विश्वकर्मा, माधव सापकोटा, ध्रुवबहादुर प्रधान, ठाकुर गैरेले प्रकृति लम्सालको रहस्यमय मृत्युबारे छानबिन, दोषीमाथि कारबाही तथा केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेका हुन् ।
त्यस्तै, प्रकृति लम्सालको न्यायका लागि विभिन्न पार्टी संगठनले समेत देशका विभिन्न ठाउँमा प्रदर्शन गर्दै सरकारलाई तत्काल सत्य तथ्य बाहिर ल्याउन माग गरिरहेका छन् ।



































