काठमाडौं । महानगर प्रहरीको धरपकडका बिच काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालयमा प्रवेश गरेका छन् ।
गुरागाईँलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । उनलाई नगर प्रहरीले गेटमै रोक्ने प्रयास गरेको भए पनि कर्मचारीहरूले रोक्न नदिई उनलाई कार्यालय प्रवेश गराइएको हो ।
गत पुस ७ गतेदेखि गुरागाईँलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
कर्मचारीहरूले आफूहरूले तलबसमेत खान नपाएको भन्दै आक्रोशित बनेका छन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई हाजिर गराउने बताइरहेका छन् ।
साथै गुरागाईँको गल्ती कमजोरी भएको खण्डमा उनीमाथि समिति नै बनाएर अनुसन्धान गरिनुपर्ने तर गुरागाईँलाई कार्यालय प्रवेशमै रोक लाउन नमिल्ने बताएका छन् ।



































