काठमाडौं । सिस्नुपानी नेपालले २०८१ सालको देउसी भैलोको आयोजना गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरु लगायतलाई बोलाएर सिस्नुपानीले देउसी भैलोको आयोजना गरेको हो ।
सिस्नुपानी नेपालका उपाध्यक्षसमेत रहेका वरिष्ठ हास्य कलाकार मनोज गजुरेलका अनुसार प्रज्ञा सिस्नुपानी देउसी २०८१ को पूर्णपाठ यस्तो छ
विपीले भन्थे – समाज् वाद देउवाजी भन्छन् – समात् बाँध मदनको बहुदलीय – जनवाद ओलीको एकल – मनवाद ।
माओले भन्थे – साम्मेवाद प्रचण्ड भन्छन् – हाम्मेवाद सटरका माधव – घुम्तीमा पार्टी त छ नि – कम्तिमा
राप्रपा भन्छ – राजा ल्याउँ भ्यागुता गर्छन् –टर्र ट्याउँ । रास्वपा भन्छ – नयाँ छु फेर्ने हो सरकार रु – म याँ छु ।
३५ वर्ष ३६ सरकार, मन्त्री बने हजारौँ विकास भएन भन्नेलाई भुइँमा बजारौँ ।
थुम्कैपिच्छे भ्यूटावर छन्, टोलैपिच्छे शहीदगेट भ्रष्टाचार् भो भन्ने मुखमा, टाँसिदिनूटेप ।
संविधानको संशोधन्, साँच्चै हो कि नारा हो रु छिमेकीको चारा हो कि,आफ्नै पारा हो रु
गठबन्धनका गाँठाले, हाम्रा टाउका फुटाउँछन् दिल्ली बेजिङ आफ्ना आफ्नै धार्नी जुटाउँछन् ।
बफर जोेन बनाउन, अमेरिका आइरहने इयु पनि बेलाबेलै मुख बाइरहने ।
कालेकाले मिली बन्द, गरे अरे फायल फायल् खोलाखोललेफायल् आफैँ घायल ।
खान पिउन राउन्ड् टेबल, मातेपछि राउन्ड् किक् एक्लै खाए भ्रष्टाचार बाँडी खाए ठीक् ।
८४ मा सबै साँढे, सिङ्गल सिङ्गल भिड्ने रे ८४ को पूजा पछि गाई छाड्ने रे । खुत्खुत् हाँस्थे प्रचण्ड, ठूला दल्लाई झेलाउँदै जादुमयी संख्या भन्दै चाबी खेलाउँदै ।
स्वर्ग नर्क जता गएनि, सँगै जाउँला भनेर ओली दाहाल सुते एउटै सिरक तानेर ।
लुस्स निस्की ओली गए, देउवाजीको खाटमा के भो होला नसम्झौँ भो मध्य रातमा ।
हिजोसम्म चाटाचाट, आज भयो काटाकाट लाजले गर्यो आत्महत्या जब फेरियो खाट ।
हाम्रा नेता भैँसी पुज्छन्, मुर्रा भैंसी लेराउँछन् कोही भैंसी दुन जान्छन् उतै हराउँछन् ।
हामी पनि वर्षौदेखि, भैंसी पुराण लाइराछौँ बिगौतीको सट्टा जहिल्यै गोबर पाइराछौँ ।
गीत
भैंसी लड्यो है माया पानीजाज उडेर मेची काली है माया चुच्चे रेल गुडेर ।
दुई पल्टका राष्ट्रपति‘ पार्टीतिरै फिर्ने रे नि लै लै अध्यक्ष नै खाने रे, बरु जिल्ला जाने रे कि त वडाध्यक्षै हुने रे ।
महिला प्रधानमन्त्री भन्दै ओली चारो छर्दैछन् नि लै लै आरजु गुनगुन गर्दैछन्, मोदी कान भर्दैछन् विश्व गगन सुँकसुँक गर्दैछन् ।
कांग्रेस पार्टी भित्र पार्टी, पार्टी भित्र पार्टी छन् सबै पार्टीभन्दा माथि भाउजू बाठी छन् । नेता फेर्छु भन्दै कांग्रेस, धेरै वर्ष कुर्लियो युवा हुँ म भन्नेको नै दाँत फुक्लियो ।
विपि किसुन गणेशमानले, इतिहास रचेका बिँडो थाम्न आलम जोशी खाँड बचेका । देउवाजीका स्लिपिङ् पार्टनर, प्रचण्ड र ओली प्रधानमन्त्री दिउँला भन्छन् उधारोमा भोलि ।
तानातानमा देउवाजीलाई, ज्वरो आउँछ हनहनी दुईथान कम्निस्ट नेताले घुमाए फनफनी ।
साधु नेता धनराजले, कस्तो कला जानेका ऋणको रकम पचाउन डिभोर्स हानेका ।
माओवादी अध्यक्षले, विश्राम लिनै पाएनन् किनभने प्रचण्डले दिनै चाहेनन् ।
बालुवाटारमा बसुन्जेल, दलालीको घेरामा वाममोर्चाको जोक् सुनाउँछन् फर्की डेरामा ।
कांग्रेस एमालेको टेको, लाउँदै अघि बढेका दुइटै टेको उछिट्टिँदा भुइँमा लडेका ।
लडे पनि लडेँ भन्न, लजाउँछन् प्रचण्ड आन्दोलनको प्राचिन् गाना गाउँछन् अखण्ड ।
सत्ता छँदा सिंगापुर, सत्ता छाड्दा बंगलादेश छलाङमाथि छलाङ हान्दै फुल्यो यिनको केस ।
राजा फाल्ने उर्जा थियो, थियो तिम्रो कत्रो जोश अब बन्ने वाम मोर्चामा राप्रपा नि होस् ।
जान्ने भन्दै छानिएकी, हाम्री उपसभामुख नि लै लै दूताबासलाई लेखिछन्, झण्डै मान्छे बेचिछन्, तिर्मिर तिर्मिर तारा देखिछन् ।
हप्तैपिच्छे हुँदा रैछन्, एनआरएनका अधिवेशन नि लै लै गुटैगुटमा भर्ती, देशलाई दिन्छन् अर्ती ऐना हेर्ने हो कि फर्की ।
मकै पोल्ने, फलफूल बेच्ने, सब्जी ल्याउने घरघरमा भुइँमान्छेलाई भुईँ नै छैन महानगरमा ।
पसिनाको गन्ध आउने, धोती कछाड दौराले नगरभित्र नछिर्नु खाउला लौराले ।
हुकुम्बासी नदी पस्दा नदी शहर पसेको सुकुम्बासी राजनीतिमा पोल्टिक्स घुसेको ।
बुढा नेता थर्कमान, हर्क – बालेन देखेर । त्यो क्रेजलाई नसिध्याऊ है फेसबुक लेखेर ।
(दुइटा फूल देउरालीमा.......‘)
वामदेव भन्ने थिए कतै बाबुराम नि थिए कतै । वैद्य, रावल, आरके, सीपी, बादल छाउँथे जताततै ।
सम्झे सम्झे जस्तो लाग्छ, बिर्से बिर्से जस्तो लाग्छ जय मधेशको नारा लाउने पार्टी थिए जस्तो लाग्छ ।
१२ भाइलाई १३ औँ भाइले, उफ्री उफ्री थर्कायो । सरकारले थर्काउनेकै ढाड मर्कायो ।
नपाउनेले केरा पायो, बोव्रैmसँग अड्कायो नो नट अगेन भनी भनी मन्त्री पड्कायो ।
उसले खायो त्यसले खायो, हाम्ले खान नहुने रु नयाँकाचाहिँ मुख छैन र खानै नहुने रु
भोको भन्छ वारी खाऊँ, खाको भन्छ पारी जाऊँ खानै पाको थिएन, सत्ते मरिजाऊँ ।
मत्स्य न्याय राजनीतिमा सबले तर मारेका ठुलाले चैँ साना माछा क्वाप्पै पारेका ।
गीत
म त खाँदिन टिभीको जागिर मलाई लैजाउन गृहको कुर्सीमा
हेन्सम केटो हेन्सम नारा राजनीतिमा आउँदा पाइलैपिच्छे कान्डैकान्ड अहिले थाहा पाउँदा
भो भो भाँच्दिन नाकको डाँडी हो बचत खाँदिन जिबीले नबाँडी ।
माओवादीका युवराज, क्रान्ति भेप बाल्दैछन् सहिदका स्वप्नलाई सुनले टाल्दैछन् ।
नेपालको सेयर बजार गिरोहले चलाउने अर्थमन्त्री लौको जत्रो नाक फुलाउने ।
छाडा साँढे पसेर, सहकारी निलेका अनुगमन गर्ने पनि त्यतै मिलेका ।
अड्डाभित्र करोडौँका, गाडी सडाइ सिध्याउँछन् वर्षैपिच्छे गाडी किन्न दाह्रा उध्याउँछन् ।
झाडीबाट फुत्त आयो, चोर हो कि भनेको लाइसेन्स माग्यो भन्यो गाडी किन कुदाको रु
धराप थापी भिडमा, छिर्के लाउँछन् गाडीलाई जरिवाना तिराई दसैँ मान्छन् ट्राफिक दाइ ।
गाडी डुब्छन् पिलेन खस्छन्, अनिश्चित भो गन्तव्य राहत हैन सरकार बाँड्छ शोक मन्तव्य ।
प्रदेश सरकार के गर्दैछन्, कहाँ पुगे कुदेर रु कोशीले चैँ शिखर चुम्यो कार्की जुधेर ।
प्रदेशमन्त्री मनाङ्गेले विश्व रेकर्ड राखेछन् नि लै लै मन्त्री खान अल्छीले राजिनामा दिएछन् मन्त्रालय नै बेच्न राखेछन् ।
हाम्रो देशका इन्जिनिएर, संसारलाई पढाउँछन् नि लै लै सुपरग्लुले टाँसेर, हवाइजहाज उडाउँछन् हँसाएरै आन्द्रा चुडाउँछन् ।
अनुसन्धान विभाग – ह ह ह अख्तियार हाम्रो – हा हा हा सुरक्षित आवास – हि हि हि विपत् प्राधिकरण – ही ही ही ।
लाइसेन्स छपाइ – हु हु हु धितो बोर्ड अध्यक्ष – हू हू हू समाजवादी मोर्चा – हे हे हे स्टीकर ठेक्का – है है है ।
भ्रष्टाचार गर्दिन – हो हो हो गर्न नि दिन्न – हौ हौ हौ समृद्ध नेपाल – हं हं हं सुखी नेपाली – हः हः हः ।।
चल्ने भयो दमक टावर, भो भो पिर नगर परेवा पालौँ नाम राखौँ पिजन टावर ।
चाँडो ल्याउँ समृद्धि,ख्याट्ट पारौँ ब‘टन् धरराको गरौँ दोस्रोतेस्रो उद्घाटन् ।
भेलबाडीमा डुब्दै बग्दै, जनता गुहार माग्दैथे प्रधान्मन्त्री अम्रिकामा माइक तान्दैथे ।
कविता
दशैं याम एक दिन ठुलो पानी पर्यो खोलानाला शहर पसी गर्नुसम्म गर्यो ।
स्यानु स्यानु छाप्रो थियो मनोहरा पारी एमालेका भाले बस्थे गुँड सारी सारी
क्वार्र कुर्र समृद्धिका उखान् सुनाउँथे गफ्का पोका फ्याँकी फ्याँकी दिन बिताउँथे ।
चुट्नसम्म चुट्यो आज पार्यो उठिबास झोलितुम्बी बोकी हिँडे खोज्नलाई बास ।
हेर तिनको दुःख देख्दा मीनको मन छोयो दस रोपनी दान पाउँदा झोलितुम्बी रोयो ।
एमालेको गुँड अब भाटभटेनी सर्ला मनमोहनको ठाउँमा मीनको फोटो पुज्नु पर्ला ।
धन्नेवाद ।
आशिष
छोरालाई जोत्न – लाजै होस् बाबुको खेत चैं – बाँझै होस् रोजगारी खोजिरउन् – छोराले खेताला खोजिरउन् – बाबुले ।
गाउँघर हाम्रा – कोमामा वृद्धाश्रम बस्छन् – बाआमा टिकटकको खेती – मौलाओस् नेपाली समाज – बौलाओस् ।
सहकारीको झैं – ढुकुटी होस् बचतकर्ता चैं – सुकुटी होस् दाम्पत्य जीवन – यस्तो होस् सहकारी डिभोर्स – जस्तो होस् ।
लोन खाई तिर्नु – नपरोस् बैंकले ल्याङल्याङ – नगरोस् यति र ओम्नी – दौँतरी हुन गरिबको कोटामा – चौधरी हुन् ।
बालमन्दिर काण्ड – छोपछाप होस् नबोलोस् सरकार – चुपचाप होस् बाँसबारी जग्गा – हराओस् चिहानबाट जुत्ता – कराओस् ।
रेमिटले मुलुक – धानियोस् युवा चाहिँ परदेश – हानियोस् युनिभरसिटी – खोल्दै जाउँ विद्यार्थी विदेश – ठेल्दै जाउँ ।
गाउँमा मान्छे – नमरोस् मलामी खोज्नु – नपरोस् सन्तानले दुःख – नपाओस् लास आफैं हिँडी – घाट जाओस् ।
दूध बेची किनौँ – कोक फेन्टा गाई भैँसी पाल्ने – के टन्टा यस्तै छ दियो – आशाको जनै र चन्दन् – खासाको ।
भोट खाने नेता – घुसतिर भोट दिने युवा – रुसतिर भासिए युुवा – नभनौँ काठका बाकस – नगनौँ ।
बिसौनी
देश हाम्रो नेपालै होस्, ९नहोस् लङ्का बङ्लादेश. –२ खै केले छेक्छ सुरु गर्न, ९समृद्धिको रेस रु. –२
राजनीति बिग्रिए चुनावले सच्याउला समाज पथभ्रष्ट भए कल्ले बचाउला
कत्ति सोध्नु एउटै प्रश्न ९कत्ति खेल्नु भैलो. –२ बन्द गरौँ बिन्ति छ ९देशमा भाँडभैलो ।।. –२


































