काठमाडौँ । चैत १८ गतेका दिन सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज मङ्गलवार सार्वजनिक गरिएको छ।
मंगलबार सिंहदरबारमा चैत्र १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६-८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिएका छन्।
बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानित रकम र वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ भने नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चूडामणि चापागाईँलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ डा. प्रद्युम्नराज पाण्डेलाई नियुक्त गरेको छ भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृत गरेको छ ।




































