काठमाडौँ । सेयर बजार घट्नेक्रमले आज पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबारका दिन नेप्से सूचक १५.९३ विन्दुले घटेर २७३४.९३ अंकमा आएर अडिएको छ।
शेयर बजारका लागि सबै आधार उपयुक्त हुँदा समेत लगानीकर्ताको मनोबल कमजोर भएको कारण बजारमा गिरावट आएको छ । आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ११ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.०८ प्रतिशत, बैंकिङ समूहको ०.९७ प्रतिशत, फाइनान्स समूहको २.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बैंकिङ प्रणालीमा भएको अधिक तरलता र निरन्तर घटेको ब्याजदरले समेत बजारलाई माथि तिरै लैजान सकेको छैन । तर बजारमा अपेक्षा अनुसार नयाँ लगानीकर्ता नभित्रिनु, पुरानाको पनि क्रय क्षमता विस्तार नहुनु लगायतका कारण बजारको गति सुस्त भएको छ ।
बजारमा गिरावट आउँदा पनि खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी) को सेयर मूल्य भने सर्वाधिक बढेको छ ।

































